काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा खासमा महासचिव बन्ने दौडमा थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अत्यन्त निकट मानिएका शर्मा ‘बजेटमा अनाधिकृत व्यक्तिबाट दरको दायरा हेरफेर गरेको’ आरोपमा मुछिएपछि प्रचण्डसँग उनको सम्बन्धमा चिसोपना पसेको छ।
उनी विवादमा मुछिएपछि महासचिव बन्ने उनको सम्भावना कम हुँदै गयो। अर्कोतिर नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार भनिएका वर्षमान पुन पनि पछाडि पर्नु पर्यो।
नेकपा माओवादी केन्द्रले देव गुरुङलाई महासचिव बनाएको छ। अनि शर्मालाई उपमहासचिव । तर, उनले यो पद स्वीकार गरेका छैनन्। उनले बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको जनाएका छन्।
माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो।