काठमाडौँ – राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो।
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए। उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरु रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए।
उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागूऔषधको ओसार–पसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतका २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे।
उनले भने, ‘आचरण र व्यवहार सुधारेका बन्दीहरुलाई ५० प्रतिशत उनीहरुले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरु छौँ। प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन्। त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि त्यहाँ सहज हुन्थ्यो कि भन्ने त्यहाँ भित्र पनि छ, बाहिर हाम्रो मानसिकतामा पनि छ। तर, यो कैद कट्टी गर्नेबारेमा बन्दीहरुले कैद कट्टीको लागि बन्दीहरुले प्रयत्न गर्नु त स्वभाविकै हो। तर, नकारात्मक सूची छ, नकारात्मक सूचीमा परेकाहरुलाई गर्नै मिल्दैन। सायद तिनीहरुलाई थाहा छैन कि २० वटाभन्दा बढी मुद्दामा कैद मिनाहा गर्नै मिल्दैन।’
त्यसैगरी बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
राष्ट्रिय सभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
राष्ट्रिय सभाको आगामी बैठक भदौ २६ गते आइतबार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ।