काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुरमा गठबन्धन नगर्ने निर्णय गरेको छ।
कञ्चनपुर क्षेत्र नं १ कार्यसमितिले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिने निर्णय गरेको हो।
सो क्षेत्रमा कांग्रेस आफैँमा बलियो रहेको र यदी गठबन्धन भएको अवस्थामा माओवादीले समेत सशक्त दाबी गरेको कारण कांग्रेस गठबन्धन नगरी एक्लै चुनावमा होमिने निर्णय गरेको हो।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसको एक्लै निर्वाचन जित्ने दाबीसहित गठबन्धन नगर्ने निर्णय गरेको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताए।
२०७४ सालको निर्वाचनमा ठूलो मतान्तरसहित तत्कालिन बाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी विना मगरले जित हासिल गरेकी थिइन्। केन्द्रबाट गठबन्धनको सर्कुलर भएसँगै सो क्षेत्रमा माओवादीले आफ्नो दाबीलाई सशक्त बनाइरहेको छ। गठबन्धन गरेको अवस्थामा पुनः मगरको दाबी रहने भएसँगै कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो।
संविधान सभा सदस्य तथा कांग्रेस नेता दिवान सिंह बिष्ट चुनाव लड्दै आएको क्षेत्र हो। २०७० को निर्वाचनमा जितेका विष्ट २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएका थिए।
यसपटक पनि उनी यस क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परिसकेका छन्।
केन्द्र्रले देशभर गठबन्धन गर्ने सर्कुलर जारी गरे पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिमका धेरै अन्य जिल्लामा समेत गठबन्धन नहुने भएको छ। यसअघि देउवाको गृह जिल्ल्ला डडेल्धुरा र डोटीमा गठबन्धन नहुने निर्णय भइसकेको छ।