काठमाडौं– स्थानीय तहमा जनप्रतिनिधि आएको एक सय दिन पूरा भयो। देशका विभिन्न स्थानीय तहले आफ्नो सय दिनको कामको विवरण सार्वजनिक गरेका छन्।
कुन पालिकाले कसरी काम गर्दै आएका छन्? केके काम भए? भन्ने चासोको विषय बनेको छ।
त्यसमा पनि स्वतन्त्र रुपमा निर्वाचित भएर आएका जनप्रतिनिधिले कसरी काम गर्दै आएका छन्, भन्ने चासोको विषय हो।
काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिले स्वतन्त्र निर्वाचित जनप्रतिनिधि पाएको छ। राजनीतिक दलबाट आएका जनप्रतिनिधिभन्दा स्वतन्त्र जनप्रतिनिधिमा जनताको आशा अपेक्षा बढी देखिन्छ।
देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिका र स्वतन्त्र निर्वाचित भएका मेयर बालेन साहले सय दिनमा के के काम गरे भन्ने चासोको विषय बनेको छ।
फोहोर व्यवस्थापन, फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापनको चुनौतीका चाङकाबीच निर्वाचित भएका मेयर साहले आफूले निर्वाचित भएको एक सय दिनको कामको विवरण सार्वजनिक गरेका छन्।
काठमाडौंका मेयर साहले नगर प्रमुखको रुपमा आएसँगै कतै आलोचना खेपेका छन् भने कतै स्याबासी कमाइरहेका छन्। उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म टिका माला नलगाउने घोषणा गरेको मेयर बालेनले लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै निकै आलोचना भयो।
उनले र्यापर यमबुद्धको शालिक बनाउनका लागि एक करोड बजेट विनियोजन गरेका थिए। जसको चर्को आलोचनासमेत भएको थियो। यता फुटपाथ व्यवस्थापन, अवैध संरचना हटाउँदा, काठमाडौं फनपार्कको कर असुल लगायतका विषयमा निकै प्रशंसा पाएका थिए।
फुटपाथ व्यवस्थापन
काठमाडौं महानगरपालिकाले वर्षौंदेखि फुटपाथ ओगटेर सञ्चालन गर्दै आएको व्यवसाय हटाएको छ। फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीहरुका लागि हो।
सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ। महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो।
मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सन्दर्भले अझै पनि सही, वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महशुस हुन्छ। तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मकता मात्रै भएर हुन्न।’
मेयर बालेन आएसँगै महानगर क्षेत्रका फुटपाथ व्यवस्थापन गर्दै आएको छ। यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला। हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ। हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पथ्र्यो, त्यही गर्यौँ। जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरुमा सकारात्मक रुपमा देखिन थालेको छ। उनले भनेका छन्।
ई स्पोर्ट्स कार्यक्रम
पछिल्लो समय खेल क्षेत्रमा पनि परिवर्तन भइरहेको छ। इस्पोर्ट्स पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ।
त्यसमा हामी तयार हुने कि नहुने? त्यो परिवर्तनलाई आत्मसात गर्ने कि नगर्ने? यो प्रश्न प्रमुख थियो। हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ। बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरु फरक पर्न थालेको महानगरपालिको जनाएको छ।
इस्पोर्ट्मा महानगरले चाहे जस्तै कार्यक्रम भएपछि बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ने साहको भनाइ थियो।
फोहोर व्यवस्थापनमा ढिलाइ
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापन समयमा नै गर्न नसकेको स्वीकार गरेका छन्। निर्वाचित भएको एक सय दिनमा उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि सोचे अनुसारको काम गर्न नसकेको बताएका छन्।
तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सकेको बताए। यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएको बताए।
अनधिकृत संरचना हटाउने
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बनेका अवैध संरचना हटायो। नक्सापास विना बनाएका संरचनालाई मेयर साह आफैँ फिल्डमा गई डोजर लगाइ भत्काइयो। जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ भन्ने उद्देश्यले अवैध संरचना हटाउको महानगरपालिकाले जनाएको छ।
सो केस कतिपय सन्दर्भमा अदालतसम्म पुगेको छ। ५ बर्षका लागि योजना छन्। अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको साहको भनाइ छ।
श्रम क्रान्तिका लागि दौडिएका हर्क
धरान उपमहानगरपालिकाको प्रमुखका रूपमा हर्कराज राई ९हर्क साम्पाङ०ले कार्यभार सम्हालेको बिहीबार सय दिन पूरा भयो। नगरप्रमुख साम्पाङको सय दिन नियाल्ने हो भने उनले मूलबाटो छाडी, गन्तव्य भुलेर अन्यत्र बरालिएको अर्थात् बाटो बिराएको जस्तो देखिन्छ।
आफ्नो नगरमा श्रम पर्यटन भित्र्याउने भन्दै सामाजिक सञ्जालमार्फत श्रमदानका लागि आव्हान गरिरहन्छन्। जेठ १० मा ‘स्थानीय सरकार’ को नेतृत्व सम्हालेका साम्पाङले सय दिन पुग्नुभन्दा १४ दिन पहिले नै सामाजिक सञ्जालमा ‘१०० दिनमा के गरिस् तैँले रु भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर’ भन्दै १३ बुँदा सार्वजनिक गरेका थिए। तर, तीमध्ये अधिकांश नगरको दिगो विकासमा योगदान गर्ने किसिमका योजना नभएको जानकारहरु बताउँछन्।
साम्पाङले आफूले नेपालमै श्रम संस्कृतिको क्रान्ति सुरु गरेको दाबी गर्ने गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्।
यस्तो छ उनले सार्वजनिक गरेका १३ काम
नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेँ, ४ ठाउँबाट खानेपानीको मुहान थपें, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ, ६ लाख विरुवा रोपेँ, सरसफाइमा देखिने सुधार ल्याएँ, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याइएको बताएका छन्।
त्यस्तैगरी जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ, बाटो मर्मत संभार तथा तटबन्धन, विपद् व्यवस्थापन, लागुऔषधविरुद्धको अभियान शुरु गरेँ, योजनाहरुका लागि बजेटको जोहो गराएको उल्लेख गरेका छन्। मेयर साम्पाङले पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएँ भन्दै शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको बताएका छन्।
हमालको एक सय दिनमा ४२ काम
कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले मेयरको कार्यभार सम्हालेको एक सय दिनमा आफूले ४२ वटा महत्वपूर्ण काम सार्वजनिक गरेका छन्। आगामी दिनमा गर्ने कामको योजनालाई समेत आफ्नो प्रगति विवरणमा समेटेका छन्।
फोहोरको स्रोतमा नै व्यवस्थापन, एक वडा एक एम्बुलेन्स सेवाको छलफल गरेको बताएका छन्। उपमहानगरको फोहोर व्यवस्थापनदेखि नालीसफासम्म लगायत विविध कार्यका लागि २ वटा स्काभेटर खरिद प्रक्रिया समेतका लागि बोलपत्र आह्वान गरिएको उपमहानगरले जनाएको छ।
फोहोरमैला व्यवस्थापनका लागि विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने। उपमहानगरले वृक्षारोपण, पानी निकास, छाडापशु चौपाया व्यवस्थापन, लेखा समिति गठन गरेर उपसमितिमार्फत बेरुजू फर्छ्योट गर्ने लगायतका ४२ वटा काम सम्पन्न गरेको विवरण सार्वजनिक गरेको छ।