काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ। आइतबार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।
आइतबार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ।
आइतबार रुरु जलविद्युत परियोजनाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ।
यता सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन करिव ३ प्रतिशत घटेको छ। आइतबार रिडी पावर ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।