काठमाडौं– राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुहरुमा एमालेसहितको भागबन्डा मिलेको छ।
दुई तिहाई बहुमत रहेको भनी सत्ता गठबन्धनले रिक्त रहेका राष्ट्रिय सभाका चार वटै समितिको सभापति आफैँ राख्न खोजेको थियो। तर, राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको भनी एमालेले कम्तिमा एउटा सभापति भए पनि पाउनुपर्ने अडान राख्दै आएको थियो।
गठबन्धनमा रहेका दलहरु एमालेलाई एउटा समितिको सभापति छाड्न तयार भएपछि रिक्त सभापतिहरुको पदपूर्तिका लागि यही भदौ २३ गते निर्वाचन गर्ने सहमति जुटेको छ।
सहमति अनुसार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीले लिने तय भएके छ। यो समितिको सभापतिमा नेकपा एकीृकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसाललाई दिने सहमति भएको नेताहरुले बताएका छन्।
यसैगरी, एमालेले राष्ट्रिय सरोकार समितिको सभापति लिनेछ। एमालेका नेताहरुका अनुसार यो समितिको सभापतिमा यसअघि एमालेकी पार्वती रावल ९दिलकुमारी० नै थिइन् । उनैलाई दोहोर्याउने एमाले नेताहरुले बताएका छन्।
नेताहरुका अनुसार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति माओवादी केन्द्रले लिनेछ। यसअघि यो समितिको सभापतिमा राम नारायण बिडारी थिए। उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा कार्यकाल सकिएर विदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका मायाप्रसाद शर्मालाई दिन लागिएको छ।
यसैगरी, दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थ रहने गरी सहमति जुटेका नेताहरुले बताएका छन्। यसअघि पनि समितिको सभापतिमा कांग्रेसकै सांसद थिए।
राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन्।
५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ। राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ।
यस अनुसार समयमै सभापति चयन हुन नसकेको भनी आलोचना भइरहेका बेला दलहरुका बीचमा सभापतिहरुको निर्वाचन भदौ २३ गते गर्ने सहमति जुटेको हो।
उपाध्यक्षबारे मौन
नेताहरुका अनुसार राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन मौन रहने सहमति छ।
उपाधयक्ष पद पनि २१ फागुन २०७८ देखि नै रिक्त छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्ष चयन भएको छैन। तर, यसपटक पनि राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन गर्ने विषयमा दलहरु मौन रहने नीतिमा छन्।
भदौ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन गर्ने विषयमा दलहरुका बीचमा सहमति नजुटेको नेताहरुले बताएका छन्।