गएको अगस्ट महिनामा ४१ हजार ३ सय जना पर्यटक नेपाल आए - Chaitanya News
  • 2026-06-05
  • 21:54:28
  • शुक्रबार,जेठ २२, २०८३
  • गएको अगस्ट महिनामा ४१ हजार ३ सय जना पर्यटक नेपाल आए

    गएको अगस्ट महिनामा ४१ हजार ३ सय जना पर्यटक नेपाल आए

    काठमाण्डौ – गएको अगस्ट महिनामा ४१ हजार तीन सय चार जना पर्यटक हवाई माध्यमबाट नेपाल आएका छन्। अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये १८ हजार आठ सय ५२ जना अर्थात् ४५ दशमलव ६ प्रतिशत सार्क राष्ट्रका नागरिक रहेका छन् भने बाँकी अरू देशका रहेका नेपाल पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए।

    यस वर्षको अगष्ट महिनामा नेपाल आएका पर्यटकको सङ्ख्या कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को भन्दा ४४ प्रतिशतले कमी हो। सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए। महामारीका कारण सन् २०२० र २१ मा भने पर्यटकको सङ्ख्या निकै कमी थियो। २०२० को अगस्टमा दुई सय ५६ जना र २०२१ को अगस्टमा पाँच हजार नौ सय १७ जना पर्यटक नेपाल आएका थिए।

    अगस्ट महिनामा युद्धग्रस्त युक्रेनबाट ७७ जना र युक्रेनमा आक्रमण गरिरहेको रुसबाट दुई सय ४९ जना पर्यटक नेपाल आएका छन्। पर्यटन व्यवसायमा सेप्टेम्बरदेखि नयाँ सिजन सुरु हुन्छ। यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले उत्साहजनक भएको व्यवसायीहरूले बताएका छन्।