माओवादीमा गुटैगुट भयो, नेताहरुकै बोलचाल छैन : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-04-21
  • 15:34:11
  • मंगलबार,बैशाख ०८, २०८३
  • माओवादीमा गुटैगुट भयो, नेताहरुकै बोलचाल छैन : अध्यक्ष प्रचण्ड

    माओवादीमा गुटैगुट भयो, नेताहरुकै बोलचाल छैन : अध्यक्ष प्रचण्ड

    सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको बताएका छन्। यही कारण स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए।

    शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमा पार्टीले १७५ पालिका जित्ने आकलन गरिएको सुनाए। तर १२२ मा सिमित भएको भन्दै उने भने, ‘आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जितेको गुमायौं।

    पार्टीमा विचार समूह एउटै रहेको र नेतृत्वमा पनि कसैको विमती नरहेको भए पनि थुप्रै गुटहरु बनेको बताए। यो गुटभन्दा पनि स्वार्थ समूह भएको र पदका लागि गठजोड भएको भन्दै उनले भने, ‘कार्यकर्ता लेभलमा छैन, नेताहरुमा छ। नेताहरुको बोली प्रस्तुत हेर्नुभयो भने बुझिहाल्नुहुन्छ।

    बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तथर व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेको उनले बताए। ‘नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन्। आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘ यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ।’

    पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको प्रचण्डले सुनाए। यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नुभन्दा माक्र्सले इन्टरनेशनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने गरेको प्रचण्डले सुनाएका थिए।