मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : प्रधानन्यायाधीश जबरा - Chaitanya News
  • 2026-04-21
  • 15:05:23
  • मंगलबार,बैशाख ०८, २०८३
  • मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : प्रधानन्यायाधीश जबरा

    मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : प्रधानन्यायाधीश जबरा

    काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा पेसी व्यवस्थापनका विषयमा उल्लेख्य काम गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र करछलीका मुद्दा फैसला भएको दाबी गरे।

    जबराले बयानका क्रममा भने,मेरै नेतृत्वमा मेरै कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला भए। अर्बौंको करको मेरो नेतृत्वमा सरकारीकरणसमेत भएको छ। धेरै संवैधानिक प्रश्नहरूको निराकरण गरिएको पनि उनले बताए। उनले अगाडि भने, मेरै नेतृत्वमा सरकारी जग्गाका विषयमा समेत निर्णय गर्नुपर्‍यो। धोबीखोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको छ।

    सर्वोच्चमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले एनसेललाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सुरुमा टेलियाले नेपाल छाडिसकेको अवस्थामा तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्व आजियाटा र एनसेलको जिम्मेवारी भएको फैसला गरेको थियो।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको बृहत् पूर्ण इजलासको फैसलाअनुसार ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको थियो। जरिवाना र ब्याजसहित एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार कर निर्धारण भएको थियो । एनसेलले त्यसअघि नै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ बुझाइसकेको थियो । बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन ठूला करदाता कार्यालयले पत्राचार गरेको थियो।

    ठूला करदाताको पत्र लिएर एनसेल १८ अर्ब रुपैयाँ कर बढी भएको भन्दै त्यो घटाउन माग गर्दै पुन सर्वोच्च अदालतमा मुद्दा दायर गर्‍यो। सर्वोच्चले १७ अर्ब ९५ करोड कर र अन्य रकमसहित करिब २२ अर्ब रुपैयाँ कर तिर्नुपर्ने फैसला सुनाएको थियो। यसमध्ये केही रकम मात्रै एनसेलले बुझाएको हो। एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बिक्री भएको थियो।