सर्लाही– समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा. बीरवंश बैठाले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।
मलंगवास्थित कुशुम पार्टी प्यालेशमा पत्रकार सम्मेलन गर्दैृ डा. बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि स्वतन्त्र उमेदवारी घोषणा गरेको बताए। ‘पटक पटक यिनै एउटै नेतालाई हामीले जिताएर पठाएकाछौं।
देशमा विकास गर्नुको सट्टा अहिलेको नेतृत्वले ३ सय वर्ष पछि धकेलेको भन्दै अब राजनीतिमा बुढापाका, पुराना र औंठाछाप हैन, विद्वान र भिजन भएको व्यक्ति आउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ भने। पत्रकार सम्मेलनमा डा. बैठाले भने ‘आज यूरोपलाई हेर्नुस् हामी भन्दा कैयौं गुणा विकासमा अगाडि छन्। विद्वान व्यक्तिहरु नै ती देशहरुमा राजनीतिमा आएकोले त्यो सम्भव भएको हो।’ उनले अगाडी भने ‘हाम्रोमा त आफ्नै नाम लेख्न नजान्नेहरुलाई चुनाव जिताएर पठाईन्छ अनि कसरी हुन्छ देश विकास रु’ उनले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै कायम रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको बताए।
३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गर्दै उनले त्यो बेलादेखि आजको दिनसम्म नेपाली जनताले सुखानुभूति गर्न नपाएको बताए। उनले देशमा गतिलो नेता नभएको दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र रहेको बताए । ‘यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला।’ उनले भने ‘हाम्रा देशका नेताहरुसँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन। कुनै पनि राजनीतिक दलमा स्थिरता छैन। यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन।’ विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएकाछौं। अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ।
राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको भन्दै अब समाजलाई गति प्रदान गर्नुपर्ने बताए। विकास के हो र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा अहिले बालेन र हर्कहरुले प्रमाणित गरिरहेका छन् भन्दै त्यसरी नै प्रमाणित गरेर देखाउने बताए। उनले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह समेत गरे।
देश विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर जागीरावधि डेढ वर्ष बाँकी छँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको बताउने डा।बैठा मलंगवा नगरपालिका ५ भाड्सरका स्थायी वासिन्दा हुन्। डा. बैठा हेटौंडा उपमहानगरपालिका ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेको व्यक्ति हुन्। सो विद्यालयमा रहँदा उनले नै अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गरेका थिए।
करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक रहेको छ। डा.बैठाकै कारण उक्त विद्यालयमा मधेस प्रदेशका सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन्। उनकै कारण उक्त विद्यालय विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्यहाँ अध्यनरत मधेस प्रदेसका विद्यार्थीहरुले बताएका छन्। उनले शिक्षण पेशामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड समेत पाएका छन्। स्कलरसिपमा विएड एमएड गरेका डा। बैठालाई समाज रुपान्तरणमा खेलेको भूमिकाकै कारण क्यानाडास्थित ब्रस्टन ईन्टरनेशनल यूनिभरसिटीले मानार्थ विद्यावारिधि दिएको हो।