काठमाडौं– तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मुलुकमा अहिले चलिरहेको गठबन्धनको राजनीति निर्वाचनमा आफ्नो सीट सुरक्षित गर्न र भोटको गणितमा आधारित मात्र रहेको बताएका छन्। आइतबार महोत्तरी गाउँपालिकामा आसन्न निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लालले सत्तारुढ गठबन्धनको कुनैपनि सिद्धान्त र कार्यक्रममा आधारित नभई निर्वाचनमा सिट सुरक्षित गर्नका लागि भएको बताए।
उनले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेकाले नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, एकीकृत समाजवादीलगायतका दलहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिएको आरोप लगाए । उनले गठबन्धनमा रहेका दललाई एउटै ड्याङ्गका मूला रहेको भन्दै उनले भने, ‘यी सबमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यी सबैको भ्रममा पर्नु ठीक नहुने र परियो भने ठगिने निश्चित छ।’
गठबन्धनको निर्माण कुनै खास एजेण्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै उनले मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको बताए। खास गरी समानुपातिक समावेशीतालाई महत्वहीन बनाइँदै लगिएको उनको आरोप छ। त्यस्तै तमलोपाका वरिष्ठ नेता डा। विजयकुमार सिंहले मधेश केन्द्रित दलहरुले मधेशको एजेण्डा बिसाइदिएको कारणले तराई–मधेश लोकतान्त्रिक पार्टी सक्रिय भएको बताए।