काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन।
विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने काम भएको उनको आरोप छ। अध्यक्ष ओलीले नागरिकता विधेयकको विषयमा सार्वजनिक भएका गलत विषयको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको भन्दै सरकारलाई प्रश्न समेत गरे।
नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए। उनले भने ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ। एमाले जनताको समस्या समाधान गरेर आएको पार्टी हो। एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ। सार्वजनिक भएका भ्रमलाई प्रतिवाद गर्नुपर्छ।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहोर्याउनु भयो। राष्ट्रहितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र सम्वद्र्धनका लागि मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क छ।