प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी - Chaitanya News
  • 2026-04-21
  • 11:02:14
  • मंगलबार,बैशाख ०८, २०८३
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी

    काठमाडौं– महाभियोगको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी परेको छ। महाभियोगको प्रस्ताव पुष्टी हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उमेश बानियाँले उजुरी दिएका हुन्।

    आफूले २०७३ कार्तिक २९ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा चलेका मुद्दाका विषयमा न्यायपरिषदमा उजुरी गरेको र न्यायपरिषदबाट छानबिन गरी छानबिन समितिका दुई सदस्यले कारवाहीको सिफारिससमेत गरेको अवस्थामा तत्कालीन प्रधानन्यायाधीश जबराले २०७५ माघ १५ गते उक्त उजुरी निवेदन तामेलीमा राखेको बानियाँको जिकिर छ।

    यस अतिरिक्त तत्कालीन प्रधानन्यायाधीश जबराले कारबाही गर्नुपर्ने काभ्रेपलाञ्चोक जिल्ला अदालतका तत्कालीन न्यायाधीश लेखनाथ ढकाललाई उल्टै पुरस्कृत गरी उच्च अदालतको न्यायाधीशमा बढुवा गरेको बानियाँको भनाइ छ।

    बानियाँका अनुसार तत्कालीन जिल्ला न्यायाधीश ढकालका विरुद्ध १८ लाख नगद असुल गरी एकैदिन एकै प्रकृतिका एकैचोटी, एकै अदालतमा चलाइएका मुद्दाहरूमा फरक फरक किसिमका फैसला आदेश दिएको, २०७३ भदौ २७ गते फैसला हुँदासमेत प्रमाणसहित उजुरी दिँदा त्यसमा गम्भीर छानबिन नगरी कारबाही गर्नुपर्ने न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा बढुवा गरी पुरस्कृत गरिएको थियो।

    यो प्रकरणमा संलग्न तत्कालीन प्रधानन्यायाधीश जबरा उपर महाभियोग पुष्टी हुने बानियाँको दाबी छ । उनले यसबारे थप बुझ्नुपर्ने भएमा आफू जुनसुकै समयमा समिति समक्ष उपस्थित हुने पनि उल्लेख गरेका छन्।