गठबन्धन अहिलेको आवश्यकता हो : नेता कोइराला - Chaitanya News
  • 2026-04-21
  • 06:27:17
  • मंगलबार,बैशाख ०८, २०८३
  • गठबन्धन अहिलेको आवश्यकता हो : नेता कोइराला

    गठबन्धन अहिलेको आवश्यकता हो : नेता कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दल बीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए।

    उनले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे नेता डा.कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए। उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहीनताको अन्त्य चाहेको धारणा राखे।

    प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरुको मन जितेर मत माग्नुपर्ने बताए। केन्द्रीय सदस्यद्वय डा।डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे।

    कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे। क्षेत्र नं ६ का सभापति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाईँ र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राखे।