सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्रेरित - Chaitanya News
  • 2026-04-21
  • 02:19:26
  • सोमबार,बैशाख ०७, २०८३
  • सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्रेरित

    सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्रेरित

    काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भएको बताएका छन्।

    आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारीले भेटवार्ता तीव्र बनाएकी छन्। उनले बुधबार मात्र सैनिक अधिकारी र कानुनविद्हरुसँग परामर्श गरेकी थिइन्।

    बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिले गरेको भेटवार्ता र राजीनामा दिने चर्चाबारे छलफल भएको स्रोतको दाबी छ।

    एक सहभागीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका थिए।

    त्यही क्रममा राष्ट्रपतिको भेटवार्ताको विषय प्रवेश भयो । पूर्व परराष्ट्रमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले गरेको भेटवार्ता असंवैधानिक भएको बताए।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सक्रियता अस्वभाविक भएको बताए । २०६३ सालमा नागरिकतासम्बन्धी कानुन बनाउँदा वर्तमान राष्ट्रपति भण्डारी समेत सहभागी भएकाले विरोध गर्नुको अर्थ नभएको बताए।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिको सक्रियतामा असन्तुष्टि जनए भने गृहमन्त्री बालकृष्ण खाँणले विधेयकबारे बुझाउन आफूले गरिरहेको कामबारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेता भन्छन्, ‘राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्ररित छ भन्ने सबैको धारणा थियो।’