काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नक्सा जसरी पास भएको छ, त्यसरी नै संरचनाहरु निर्माण गरिदिन आग्रह गरेका छन्।
बिहीबार नयाँ बानेश्वस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा डोजर चलाएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। सबैले आफैले बुझेर अवैधानिक संरचना हटाइदिन पनि उनले आग्रह गरेका छन्।
यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत रुपमा बनेको संरचना हटाउन आग्रह गरेका थिए। संरचना हटाउन आग्रह गर्दा अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्माले मेयर शाहसँग उल्टै सवालजवाफ गरेका थिए।
त्यसक्रममा शाहले भवन निर्माणको नक्सा मागेका थिए। तर, शर्माले नक्सा आफूसँग नभएको बताएपछि मेयर शाह र सञ्चालक शर्माबीच चर्काचर्कीसमेत भएको थियो।
त्यसलगत्तै बालेन अवैध संरचना हटाउन आफै नक्सा र डोजर लिएर पुगेका थिए। महानगरले अवैध रुपमा बनाइएको सटर भत्काएको छ।
मेयर शाहले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ , त्यहीअनुसार बनाइ दिनुहोला।’
काठमाडौँ महानगरपालिकाले केही दिनदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ।
३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।