काठमाडौं– नेपाली फिल्म उद्योगको सफल जोडी हुन पल शाह र आँचल शर्मा। यी दुईले केही फिल्म हुँदै थुप्रै म्युजिक भिडिओमा स्क्रिन सेयर गरे। दर्शकले पल र आँचलको जोडीलाई निकै मन पराएका थिए। यो जोडीलाई एकताका ‘आँप’ जोडी भनेर समेत सम्बोधन गरिन्थ्यो।
पल र आँचलका विषयमा फिल्म उद्योगमा गसिपसमेत हुन्थ्यो। अहिले परिस्थिति बेग्लै छ। आँचल घरजम गरेर बसेकी छन्। पल नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
पल थुनामा पुगेलगत्तै उनलाई भेट्न सेलिब्रेटीको जम्बो टोली तनहुँ पुग्यो। उनका हरेक कुरा अपडेट गरे। तर आँचल मौन रहिन्। धेरैले आँचल पललाई भेट्न किन गइनन् भनेर प्रश्न गरिरहेका थिए।
आँचलले हल्ला नगरी पललाई भेट्न गएको बताएकी छन्। कारागारमा पललाई भेटेर फर्किएकी आँचलले पल झनै ह्यान्डसम भएको प्रतिक्रिया दिएकी छन्। उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूले संगत गर्दाको पल अर्कै भएको बताएकी छन्।
आफूले ४ वर्षसम्म संगत गरेको पल असाध्यै भद्र र सहयोगी रहेको आँचलले बताएकी छन्। आफूले संगत छाडेपछि भने उनको व्यवहार कस्तो भयो भनेर आफूलाई थाहा नभएको पनि उनको तर्क छ।