काठमाडौं– काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ।
महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो। घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बता।
‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो? अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न?
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए। ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं, महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु,’ श्रेष्ठले भने, ‘कोभिड–१९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ।
भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए।