काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुने भएपछि अहिले विभिन्न राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन्। निर्वाचनमा चुनावी तालमेल गरेर जाने पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ । सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक बसिरहे पनि टुंगो लाग्न सकिरहेको छैन।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठक छलफल शुरु हुनै लाग्दा नेताहरु दुई धारमा विभाजित भए। बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनका अन्य दलका नेताहरु अर्को तिर भए।
बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’ बारे छलफल हुनै नपाएको एक नेता बताउँछन्। कांग्रेसले गएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर ‘मोडालिटी’ बनाइनुपर्ने कुरा राखेको छ भने गठबन्धनका अन्य दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने फरक कुरा राखे।
उनीहरुले प्रतिनिधिसभामा २०७४ को निर्वाचनमा पाएको सिटलाई आधार मानेर मोडालिटी बनाउनुपर्ने कुरा राखे। गठबन्धन दलका नेताहरु दुई धारमा देखिँदा सिट बाँडफाँट गर्न धेरै नै सकस पर्ने देखिन्छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने वान टु वान वार्ता गरेपछि सिट बाँडफाँड टुंगिने बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रतिनिधिसभामा ६० सिट आफूहरुले पाउनै पर्ने दाबी छ। यसअघि २०७४ को निर्वाचनमा माओवादीले नेकपा एमालेसँग तालमेल गर्दा ३७ सिट जितेको थियो।
जसमा एमाले र माओवादीबीच ६०(४० को भागबण्डा भएको थियो। स्थानीय तहको निर्वाचनमा सिट बाँडफाडमा भेदभाव गरिएको भन्दै असन्तुष्टि जनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी लगायत जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने ५०–५० को भागबन्डा गर्नुपर्ने कुरा राख्दै आएका छन्।
यता कांग्रेसले आफू एक्लै लड्दा पनि ८० सिट ल्याउन सक्ने अनुमान लगाउन थालेको छ। त्यति मात्र होइन कांग्रेसले सय सिट दाबी गर्न भ्याएको छ। सिट बाँडफाडको लागि बनेको कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुईरदुई जना सदस्य छन्।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन्।