विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेको छु : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-04-20
  • 22:07:27
  • सोमबार,बैशाख ०७, २०८३
  • विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेको छु : अध्यक्ष प्रचण्ड

    विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेको छु : अध्यक्ष प्रचण्ड

    चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन।

    आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा आझ बुधवार उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए। कम्युनिस्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए।

    अध्यक्ष प्रचण्डले भने, ‘विगतका वर्षहरूमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन।’ माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताए।

    माडीको विकास र समृद्धिविना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उनले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताए। बाँदरझुला र माडीका भूमिहीन सुकुम्वासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उनको भनाइ छ। नाप–जाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए।

    शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उनले माडीको विकासविना चितवनको समृद्धिको सपना साकार नहुने बताए। उनले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गरे।