भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित - Chaitanya News
  • 2026-04-20
  • 17:51:00
  • सोमबार,बैशाख ०७, २०८३
  • भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित

    भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित

    काठमाण्डौैं– भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ। उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रोक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन्।
    नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरूपको भएको भन्दै त्यहाँको संसद्को एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो।

    भारतीय बजारमा नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने–नबिक्ने अन्योलमा छन्। उद्योगी तथा व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन् । भारतीय संसद्को सो समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै आरोप लगाएको हो। नेपाली चिया व्यवसायीहरू भारतको झूटो आरोपले नेपाली चियाको बजार धरापमा पर्ने भन्दै चिन्तित समेत भएका छन्।

    नेपालको चिया वर्षौंदेखि भारत हुँदै तेस्रो मुलुक निर्यात हुँदै आएको छ। नेपाली चिया व्यवसायीले चियामा भारतीय पक्षले झूटा आरोप लगाएको बताउँदै आएका छन्। नेपालमा उत्पादित चिया आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन भारत सरकारलाई बुझाएपछि भारतीय पक्षले षड्यन्त्र रचेर नेपालको चिया बदनाम गराउन खोजेको नेपाली व्यवसायीको भनाइ छ। स्रोतका अनुसार भारतका दुई सदनका ३० जना सांसद सहभागी एउटा समितिले भारतीय सरकारलाई प्रतिवेदन बुझाएको छ।

    नेपालमा उत्पादित चिया सस्तो र गुणस्तरहीन भएका कारण विश्वको एक मात्र उत्कृष्ट दार्जीलिङको चियालाई असर परेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ। साथै भारतमा चियासँग सरोकार राख्ने विभिन्न संघसंस्थाले संसदीय समितिलाई नेपालबाट आयात हुने सस्तो र गुणस्तरहीन चियाको परिमाण धेरै भएको बताएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार भारतको आर्थिक वर्ष सन् २०१३–०१४ देखि सन् २०१८–०१९ सम्म एक करोडदेखि १ करोड २० लाख किलोसम्म चिया भारत भित्रिएको उल्लेख छ।

    नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जीलिङ चिया विश्व बजारमा अलोकप्रिय भएको भन्दै भारतीय पक्षले नेपाली चिया रोक्न प्रयास गरेको जनाइएको छ। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले भारतीय संसद्ले प्रस्ताव पारित गरे नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुग्ने बताउँदै आएको छ। नेपालले चिया विदेश निर्यात गर्न नेपालको आफ्नो लोगोसमेत प्राप्त गरिसकेको छ। तर, अझै नेपाली चिया विदेश निर्यात गर्न भारतकै भर पर्नुपर्ने अवस्था छ।

    भारतमा नेपाली चिया निर्यात रोके नेपालको अर्थतन्त्रमा समेत समस्या हुने सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तम श्रेष्ठले बताए। उनले नेपाली चिया रोक्नुअघि नै नेपालको तर्फबाट कूटनीतिक पहल गर्नुपर्ने बताए। उनले नेपाली चिया बिक्री गर्न भारतको मात्र भर पर्नुपर्ने भन्दा पनि अन्य मुलुकमा चिया निर्यातका सरकार लाग्नुपर्नेमा जोड दिए।

    हाल भारतमा मात्रै निर्भर भएका कारण नेपाली गुणस्तरीय चियासमेत सस्तो मूल्यमा बिक्री गरिरहनुपरेको छ। उनका अनुसार भारतीय अक्सनमा भारतीय व्यापारीले नेपाली चिया पुर्‍याउने हो भने त्यसको मूल्य महँगो पर्ने बताइएको छ। साथै, सोही मूल्यमा ४० प्रतिशतदेखि शतप्रतिशतसम्म भन्सार शुल्क तिर्नुपर्ने भएपछि नेपाली चियाको बजार धरापमा परेको व्यवसायीको भनाइ छ।