काठमाडौं– म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो।
बेनी(जोमसोम(कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएका छन्।
सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक संचालनका लागि काम थालिएको छ।
सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ। मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन्।
यसैबिच अत्याधिक बर्षाका कारण दानास्थित ज्ञानप्रकाश माविमा भेलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए। शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको थियो।