यही चुनाव मेरा लागि अन्तिम हो : खनाल - Chaitanya News
  • 2026-04-20
  • 17:51:36
  • सोमबार,बैशाख ०७, २०८३
  • यही चुनाव मेरा लागि अन्तिम हो : खनाल

    यही चुनाव मेरा लागि अन्तिम हो : खनाल

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेको बताएका छन्।

    इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्न लागेको उनले बताए। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले यो निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।

    राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छु। अब एकपटक लड्छु।

    उनले इलाम– १ बाट चुनाव जित्ने जित्ने विश्वास समेत व्यक्त गरे। अहिले पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए। ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ। एक्लो ढेडुको असफलता अनिवार्य छ। दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै उनले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।

    नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए।मुलुकका लागि वृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन, तर समाजवादी रूपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने। पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए।

    ‘वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिह्न कुनै सिद्धान्त होइन,’ उनले भने।