काभ्रे– पनौती नगरपालिकाले भैंसीको पाडापाडीको जन्मदर्ता गराउने भएको छ। स्थानीयहरूको घरमा जन्मिएको पाडापाडीको जन्मदर्ता बनाउने र जन्मदर्ता बनिसकेपछि भैंसीधनी किसानलाई नगरपालिकाले भत्ता दिने गरेको छ।
आर्थिक वर्ष २०७६–०७७ बाट भैंसी सुत्केरी भत्ता तथा जन्मदर्ता कार्यक्रम नगरपालिकाले ल्याएको थियो। कार्यक्रम ल्याएको पहिलो वर्ष भने लगभग ६ लाख रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको पनौती नगरपालिकाका कृषि शाखा प्रमुख लिलानाथ सापकोटाले बताए।
सो रकम लिने किसानको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष २०७८–०७९ मा मात्रै भैंसी सुत्केरी स्याहार भत्तामा नगरपालिकाले ४० लाख रुपैया भन्दा बढी खर्च गरेको उनले बताए।
‘भैंसीको संरक्षण प्रवर्धन अभियान’अन्तर्गत भैंसी पहिलो बेत व्याउँदा पाँच हजार रुपैयाँ र दोस्रोपछि अन्य बेत व्याउँदा प्रति बेत दुई हजार रुपैयाँ किसानलाई दिने गरेको छ।
पाडीहरूलाई हुर्कने वित्तिकै बेच्ने चलन पनि कम भएको उनको अनुभव छ। पाडी पहिलो बेत ब्याउँदा पाउने सुत्केरी भत्ताको लागि पनि किसानहरुले पाल्न थालेका छन्। साथै भैँसीको बिमा गर्ने किसानको संख्या पनि बढेको उनी बताउँछन्।
भैंसीको सुत्केरि भत्ता पाउनको लागि पाडापाडीको जन्मदर्ता अनिवार्य गर्नुपर्ने नगरपालिकाले जनाएको छ। त्यसको लागि भैंसी व्याएपछि माउ, बच्चा र पशुधनीको एकैठाउँमा उभिएको फोटो चाहिन्छ। नगरपालिकाले जारी गरेको प्रमाण पत्र लिनको लागि भैंसी धनी किसानको नाम, ठेगाना, सम्पर्क नम्बरसहित फारम भर्नुपर्छ।
फारममा भैंसीको बेत कुन हो, भैंसी बीमा गरिएको कम्पनी कुन हो रु खुलाउनुपर्ने साँपकोटा बताउँछन्। त्यस विवरणलाई प्रमाणित गर्दै प्राविधिकको प्रमाणीकरण र ३ जना छिमेकीको साक्षी आवश्यकता पर्छ। वडा जनप्रतिनीधिले प्रमाणित गरेपछि पाडापाडीको जन्मदर्ता प्रमाणपत्र बन्छ। यही आधारमा सुत्केरी भत्ता किसानले रकम पाउने प्रावधान रहेको नगरपालिकाले जनाएको छ।