तुलसीपुर उपमहानगर पमहानगरपालिकामा उपमेयरले बोलाएको सर्वदलीय बैठक मेयरले गरे स्थगित - Chaitanya News
  • 2026-04-20
  • 13:10:10
  • सोमबार,बैशाख ०७, २०८३
  • तुलसीपुर उपमहानगर पमहानगरपालिकामा उपमेयरले बोलाएको सर्वदलीय बैठक मेयरले गरे स्थगित

    तुलसीपुर उपमहानगर पमहानगरपालिकामा उपमेयरले बोलाएको सर्वदलीय बैठक मेयरले गरे स्थगित

    दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ एयरपोर्टलाई स्तरवृद्धिका लागि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले छलफलका लागि सर्वदलीय बैठक बोलाइन्। बैठकले एयरपोर्ट स्तरवृद्धिका लागि समिति गठन गर्ने समेत तयारी थियो। उपमहानगरपालिकाको बैठक शाखालाई उपमेयर चौधरीले निर्देशन गरेपछि बैठकका लागी सबै क्षेत्रलाई खबर गरिएको थियो। तर, तत्काल बैठक तत्काल रोकियो।

    भदौ १ गतेका लागि बोलाइएको त्यो बैठक स्थगित भएको जानकारी वडाका जनप्रतिनिधिले पाएनन्। त्यसपछि उनीहरु दिउँसो ३ बजे भनि तोकिएको समयमै पुगे। तर, त्यहाँ आएपछि मात्रै बैठक स्थगित भएको जानकारी पाएपछि फर्किएका थिए। स्रोतका अनुसार उपमेयरले एकलौटी गर्न खोजेको भन्दै मेयरको निर्देशनपछि बैठक स्थगित गरिएको हो। तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेबाट निर्वाचिन हुन्। केही दिनअघि मात्रै तुलसीपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट कांग्रेस सरकारको पालामा भएको सर्वेक्षणले स्तरवृद्धि गर्न सम्भव नभएको प्रतिबेदन सार्वजनिक गरेकाले यदि विस्तार सम्भव नभए विकल्प खोज्नु पर्ने बताएका थिए।

    यसअघिका उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि टरिगाउँ एयरपोर्टलाई सिकाई केन्द्र बनाउनु पर्ने भनि नीति तथा कार्यक्रममै समावेश गरेका थिए। टरिगाउँमा अन्तराष्ट्रिय स्तरको पाइलट सिकाई केन्द्र बनाउने कुरामा उनको जोड थियो। तर, उपप्रमुख स्यानी चौधरीले जसरी पनि एयरपोर्ट बन्नुपर्ने भन्दै कसैको दवाव प्रभाबमा नपर्ने बताइन्। चौधरीले मेयरकै कारण त्यो बैठक रोकिएको स्वीकार गर्छिन् ।‘मेयर काठमाडौं जानुछ, भनेर बैठक स्थगित गर्न लगाउनु भएको भन्ने कुरा आएको छ’,उनले भनिन्‘तर, उहाँ काठमाडौं जाने कुनै कार्यक्रम पनि रहेनछ।

    जनताको कामकै लागि आफूले यो पहलकदमी लिएको भन्दै कसैले रोक्दैमा नरोकिने समेत उनको भनाई छ। ‘बैठक रोकिएपछि मलाई ठूलो पिर लागेको छ’,उनले भनिन्‘तर, यो मेरा लागि मात्रै होइन्, जनताका लागि हो, यहाँको एयरपोर्ट बन्दा जनतालाई फाइदा हुन्छ, त्यसैले कसैले रोक्दैमा रोकिदैन, म मेयरसँग कुरा गरेर पुनः तत्काल बैठक बोलाउन भन्छु।

    एयरपोर्ट विस्तार नहुँदा यहाँका जनताले धेरै दुःख पाएको भन्दै आफूले जिम्मेवारी पाएमा ६ महिनामा एयरपोर्ट विस्तार गरेर देखाउने बताइन्।‘ पैसा नभएपनि काम गर्न सकिन्छ, एयरपोर्ट जनतालाई चाहिने हो, दुःख विरामी हुँदा ५–६ लाख रुपैँया हेलिकप्टरलाई तिरेर जानुपर्छ’,उनले भनिन्‘त्यसैले हामीले पहल लगेमा जनता पनि श्रमदान गर्न तयार हुन्छन्, मैले जिम्मा पाए ६ महिनामा एयरपोर्ट स्तरबृद्धि गरेर देखाउछु।’ एयरपोर्ट विस्तारका लागि ६ करोड भए पुग्ने उनको भनाई छ।

    तर, नगरप्रमुख खड्काले उपमहानगरपालिकाले मात्रै चाहेर केही बन्न नसक्ने बताए ।‘हामीले बैठक बोलाएर हुने के हो र?,उनले भने‘हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौं। काठमाडौं गएर मन्त्रीलाई भेट्यौं, बजेट थप्न भनेका छौं, केन्द्र्रबाट बजेट नआउँदासम्म हामीले केही पनि गनै सक्ने अबस्था छैन। बैठक बसाल्ने सन्दर्भमा मेयरसँग समन्वय भने हुनुपर्ने उनको भनाई थियो।

    टरिगाउँ एयरपोर्टका विषय थप पेचिलो बन्दै गएको छ । उपमहानगरपालिकाका उपप्रमुखले बोलाएको बैठक तत्काल स्थगित हुनु र पटक–पटक केन्द्रीय नेतृत्वले एयरपोर्टका विषयमा दिने अभिब्यक्तीले यहाँका नागरिक शसंकित बन्ने गरेका छन्।