सरकारले ल्याएका कार्यक्रमबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न मद्दत पुग्छ : देउवा - Chaitanya News
  • 2026-04-20
  • 13:12:33
  • सोमबार,बैशाख ०७, २०८३
  • सरकारले ल्याएका कार्यक्रमबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न मद्दत पुग्छ : देउवा

    सरकारले ल्याएका कार्यक्रमबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न मद्दत पुग्छ : देउवा

    काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र बर्षे धान प्रवर्द्धन जस्ता कार्यक्रमहरूबाट खाद्य सुरक्षा सम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

    ‘नेपालमा खाद्य सुरक्षा’ सम्बन्धी सेमिनार सम्पन्न गर्दै उनले नेपालभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी आन्तरिक मागलाई धान्न सरकार प्रयासरत रहेको बताएका हुन्।

    साथै उनले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था चिन्ताको विषय रहेको पनि बताए।

    खाद्य सुरक्षा सम्बन्धि समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरूको विश्लेषण गरी राय सुझाव प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको २ दिने सेमिनार बिहीबार सम्पन्न भएको छ।

    यस किसिमको सेमिनारले सरोकारवाला निकायहरूलाई खाद्य सुरक्षाका विविध पक्षहरूका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनहरूमा खाद्य सुरक्षा सम्बन्धी मार्ग निर्देशन गर्ने विश्वास गरिएको छ।