फरक फरक स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु - Chaitanya News
  • 2026-04-20
  • 13:15:08
  • सोमबार,बैशाख ०७, २०८३
  • फरक फरक स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    फरक फरक स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    चितवन — जिल्लाका दुई फरक स्थानमा शुक्रबार बिहानीपख भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पृथ्वीराजमार्गको कुरिनटारमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। त्यसैगरी महेन्द्रराजमार्गको रत्ननगर खगेरी पुल नजिक गाडीको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। रत्ननगरमा दुर्घटनापछि केहीबेर स्थानीयले राजमार्ग अवरूद्ध गरेका थिए।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका(४ कुरिनटारमा अघि बिहान साढे तीन बजेतिर काठमाडौंबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकसँग बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। ट्रक र मोटरसाइकल एउटै दिशामा थिए। ट्रकको पछाडी मोटरसाइकल ठोक्किएको डिएसपी अधिकारीले बताए। ठक्करपछि मोटरसाइकलमा रहेका दुवैजना गम्भीर घाइते भएका कारण उपचारका लागि भरतपुर ल्याइएको थियो।

    उपचारका क्रममा एकजनाको बिहान सवा पाँच बजेतिर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको अधिकारीले जानकारी दिए। ती व्यक्तिको साथमा दैलेख ल्याती बन्द्रासाइनी नगरपालिका(६ बस्ने २५ वर्षका सरोज रोकायाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला परेको अधिकारीले बताए। सो लाइसेन्स मृतककै हो वा हैन एकिन नभइसकेको प्रहरीको भनाइ छ। त्यसैगरी मोटरसाइकलको पछाडी बसेका व्यक्तिको पनि उपचारको क्रममा सोही अस्पतालमा बिहान साढे पाँच बजे निधन भएको थियो। ती व्यक्ति काठमाडौं महानगरपालिका–११ बस्ने ३२ वर्षको सन्तोष माझी भन्ने खुल्न आएको डिएसपी अधिकारीले बताए।

    त्यसैगरी पूर्व पश्चिम महेन्द्रराजमार्गको रत्ननगर नगरपलिका–९ खगेरी पुल नजिक आज बिहान पौने ६ बजे गाडीको ठक्करका कारण पैदलयात्री स्थानीय गणेशचोकका ७५ वर्षीय खडकबहादुर राना मगरको ज्यान गएको छ। ठक्कर दिने गाडी पत्ता लागेको छैन। ठक्करका कारण गम्भीर घाइते भएका रानाको उपचारका क्रममा भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान सवा ६ बजे तिर निधन भएको डिएसपी अधिकारीले बताए। घटनापछि स्थानीयले बाटो अवरूद्ध गरेका थिए। ठक्कर दिएर फरार रहेको गाडी तत्काल खोज्ने सहमतिपछि बिहान पौने ९ बजेबाट बाटो खुलेको डिएसपी अधिकारीले जानकारी दिएका छन्।