काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका लागि कलाकारको अहम भूमिका रहने बताएका छन्।
सोमबार रसियन कल्चर सेन्टरमा आयोजित कलाकार तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कला, साहित्य र कलाकारप्रति सदैव आफ्नो सम्मान रहने बताए। उनले आफू कलाप्रेमी भएपनि राजनीतिक जीवन भने उचारचढावमय वितिरहेको बताए। ‘म आफै पनि संस्कृति, कलाप्रति अलि बढि रुची राख्ने व्यक्ति हुँ। राजनीतिमा लागेर जीवन बडो उतारचढावमय विताइरहेको छु,’ उनले भने।
मानिसको जीवन सरल र सहज बनाउन संस्कृति , कला र कलाकारको अहम भूमिका हुने बताउँदै अध्यक्ष प्रचण्डले यिनीहरुको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताए।उनले देशमा राष्ट्रिय एकता कायम भएर जाओस् भन्ने आफ्नो धारणा रहेको बताए। उनले राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरेको र अब देशको स्थायीत्व र विकासका निम्ति जुट्नु पर्ने बेला आएको बताए। उनले भने,’राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गर्यौं, अब देशको स्थायीत्व र विकासका निम्ति सबै जुटौं।’
देशलाई समृद्धि बनाउन उत्पादन अभिवृद्धि गर्न, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन, निर्यात प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए।राष्ट्रलाई समृद्धि बनाउन सबै संघ संस्थाहरुको योगदान उत्तिकै महत्पूर्ण हुने उनको भनाइ छ।