काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफल टुंग्याएर आज पारित गर्ने तयारी गरिएको छ । बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । गत सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले चारवटै प्रतिवेदनमाथि धारणा राख्दै आएका छन् । छलफलमा सात प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यले जानकारी दिए । उनका अनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुनेछ । छलफल सकिएपछि प्रस्तुत प्रतिवेदनहरू पारित गर्ने कार्यतालिका रहेको छ । बन्द सत्रपछि भोलिको कार्यक्रमको प्रारम्भमा सभापति थापाले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको आचार्यले बताए ।


